चार दिनभित्र कामपाको फोहोर बञ्चरेडाँडामा
काठमाडाैं | भदौ ८, २०७९
काठमाडौं । यसअघि काठमाडौँ उपत्यकामा थुप्रिएको सबै फोहोर आगामी चार दिनभित्र व्यवस्थापनको काम सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
टेकु ट्रान्फरस्टेसनमा रहेका फोहोरबाहेक सडकमा जथाभावी थुपारिएको सबै फोहोर व्यवस्थापनको काम यही सातासम्ममा सक्ने गरी काम भइरहेको कामपा वातारण विभागको प्रमुख सरिता राईले जानकारी दिनुभयो ।
प्रमुख राईका अनुसार मुख्य सडकमा रहेको सबै फोहोर को व्यवस्थापन कार्य सकिएको छ, अब भित्री सडकमा रहेको केही फोहोर बाँकी छन् त्यसको पनि अन्तिम व्यवस्थापनको काम आगामी शनिबारसम्ममा सकिने छ ।
यसअघिको फोहोर पनि व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकमा भन्दा बढी दैनिक तीन सय गाडी फोहोर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पुग्ने गरेका छन् । मुख्य सडकमा नै कतै फोहोर व्यवस्थापनको काम बाँकी भए वातावरण विभागमा जानकारी दिन पनि प्रमुख राईले नागरिकलाई आग्रह गर्नुभयो ।
केही दिनअघि कामपाको प्रमुख बालेन्द्र साहले फोहोर व्यवस्थापन कार्यमा सहभागी निजी कम्पनीलाई पनि एक साताभित्र सबै फोहोर व्यवस्थापन गर्न दिर्नेशन दिनुभएको थियो । कहिले पानीको कारण बाटो अवरोध त कहिले सिसडोल बञ्चरेडाँडाका स्थानीयका अवरोध गरेपछि विगत दुई महिनादेखि उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेको थिएन ।
सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहोर बोकेको गाडी तोडफोड र कहिले सडकनै अवरोध गरी व्यवस्थापनको काममा असहयोग गर्दै आएका छन् ।
कामपाले भने स्थानीयसँग भएको सम्झौता कार्यान्वयनको चरणमा रहेको भन्दै फोहोर ढुवानीको सवालमा सहयोग गरिदिन स्थानीयलाई आग्रह गर्दै आएको छ । दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहोर व्यवस्थापनका सम्बन्धमा गत साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साविकबमोजिम फोहोर व्यवस्थापन कार्य हुन थालेको हो ।
पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौती बन्दै गएकाले कामपाले कुहिने फोहोर लाई यहीँ नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम भने गरिरहेको जनाएको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन रहेको छ ।
यसअघि पनि लामो समय फोहोर जम्मा भएर बसेको हुनाले अहिले दैनिक तीन सय गाडीले अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लाने गरेका छन् । हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहोरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ । काठमाडौँका ३२ वडा छन् । यसमा मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहोर व्यवस्थापन हुँदै आएको छ ।
काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा यही पुस २६ गतेदेखि २९ गतेसम्म तोकिएको १५औँ म...
काठमाडौं: काठमाडौं महानगरपालिकाको शिक्षा विभागले १०७ विद्यालयललाई सम्पर्कमा आउन सूचना सार्वजनिक गरेको छ । महानगर क्षेत्रभित्रमा १०७ विद्यालय भौतिक रुपमा सञ्चालनमा नरहेको पाइएपछि सम्पर्कमा आउन सूचना सार्व...
पोखरा: पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म हुने छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा चार विदेशी क्लबसहित चौध टिमको सहभागित...

